सर्वत्र प्रशंसित पुस्तकहरूप्रति मेरो अक्सर धेरथोर शङ्का रहने गर्छ। धेरैले प्रशंसा गरेका किताबहरू माझ कतै मेरो आफ्नै आवाज हराउन सक्ला कि जस्तो! यही बानीका कारण मैले थुप्रै ‘जरुरी’ मानिएका पुस्तक समयमै पढिनँ पनि। तर अरुन्धती रोयको ‘मदर मेरी कम्स टु मी’ भने अनौठो, निजी र हृदयभित्रसम्म छुने तरिकाले अचानक मेरो हातमा आयो। यो यसरी आयो, जसरी कुनै पुरानो, बिर्सिए जस्तो बत्ती अचानक आफैं बल्छ र कोठा उज्यालो बनाइदिन्छ।यो पुस्तक केवल आमाको स्मृतिमा लेखिएको संस्मरण होइन; यो त अरुन्धतीले आफ्नो जीवनका सबै नखुलेका तहहरू एक–एक गरी उघार्ने, पीडाका पुराना घाउहरूलाई छुन र स्वीकार्न सक्ने दुर्लभ साहसको दस्तावेज हो। यहाँ उनी केवल लेखक होइनन्; आफ्नै पीडा, असुरक्षा, विद्रोह, असन्तोष, प्रेम र मुक्ति– सबैको बीच उभिएकी एक जना असल मान्छे जस्तै लाग्छिन्।पुस्तकले पाठकलाई यस्तो ठाउँमा पुर्याउँछ, जहाँ हामी अरुन्धतीका शब्दसँग मात्र होइन, आफ्नै जीवनका अपूरा अध्यायहरूसँग पनि सामना गर्न बाध्य हुन्छौं शान्त, तर गहिरो ढङ्गले।अरुन्धतीको लेखाइले एउटा असहज तर महत्त्वपूर्ण सत्य उजागर गरेको छ। आमाहरू सदैव ममतामयी मात्रै हुँदैनन्; स्वार्थी पनि हुन्छन्। आफ्नै जीवनका तिक्तता, अपूर्ण इच्छा र चोटहरूको तौल छोराछोरीको कुममा राखिदिन्छन्। कहिलेकाहीं आफैंले बनाएको कठोर संरचनाभित्र छोराछोरीलाई थुनिदिन्छन्।
आमाहरू निर्दयी पनि हुन्छन्। धेरैले सोच्न सक्छन् कि आमाबारे आलोचना गर्नु अनुचित हो, तर यस पुस्तकमा अरुन्धतीको सचेत र निर्भीक लेखनले आमा–छोरीको सम्बन्धलाई अझ वास्तविक र असहज बनाएको छ।मेरी रोयको साहसिक जीवन यात्रा त्यतिबेलाको समयमा श्रीमान्लाई छोडेर केरला फर्किने दुस्साहस, प्रगतिशील विद्यालय खोल्ने दूरदृष्टि र आफ्नै परिवारलाई अदालतमा उभ्याएर उत्तराधिकार कानून खारेज गराउन पुगेको ऐतिहासिक विद्रोह ! यी सबै किताबमा वर्णित छन्।यी सबले उनलाई एक अदम्य, ढुङ्गा जस्तै अडिग साहसको स्तम्भ बनाउँछ। त्यही पृष्ठभूमिमा अरुन्धतीले आमाको अँध्यारा छायाहरूलाई जसरी उघार्छिन्, त्यसले पाठकलाई अचम्मै पार्छ।
पुस्तक पढ्दै जाँदा प्रेम एकैचोटि आश्रय पनि अनुभूत हुन्छ अनि जोखिम पनि। आमाको साथ एकै पटक घर कम र युद्ध भूमि जस्तो बढी लाग्छ। यही द्वन्द्व, यही अपूर्णता मिलेर मायाको जटिलता हृदयभित्र प्रचण्ड भावनात्मक तुफान झन् तीव्र बनाइदिन्छ।
