शिक्षक एउटा साधारण शब्द होइन । यो शब्दभित्र गहिरो अर्थ, सामाजिक उत्तरदायित्व र आत्मिक दर्शन लुकेको छ । शिक्षक भन्नाले केवल किताबका अक्षर पढाउने व्यक्ति होइन, बरु जीवनका गहिरा अर्थ बुझाउने, चेतनाको द्वार खोल्ने, र अन्धकारमा दिशाको सङ्केत दिने मार्गदर्शक हुन् । शिक्षकले केवल मस्तिष्क होइन, हृदय पनि शिक्षित बनाउँछन् । उनीहरूले केवल अक्षर होइन, मूल्य, विचार, दृष्टिकोण र चरित्रको निर्माण गर्छन्। त्यसैले शिक्षक मानव सभ्यताको साँचो निर्माता हुन् ।तर समयको गतिसँगै शिक्षण पेसाको मूल आत्मा क्षय हुँदै गएको देखिन्छ । समाजले शिक्षकप्रतिको श्रद्धा गुमाउँदैछ, विद्यार्थीले शिक्षकप्रतिको भरोसा घटाउँदैछन् र शिक्षक स्वयं पनि आफ्नो ‘गुरु’ पहिचानबाट बिस्तारै टाढा भइरहेका छन् । आजको समयमा धेरै शिक्षकहरू राजनीतिक संगठन, संघ र दलका नजिक भएर शिक्षाको धर्म बिर्सिरहेका छन् । उनीहरू दलगत आदेश र स्वार्थको खेलमा फँस्दैछन् । परिणामस्वरूप शिक्षाको मूल उद्देश्य— चरित्रवान्, सचेत, र सृजनशील नागरिक उत्पादन गर्ने कार्य— दुर्बल हुँदै गएको छ ।
तर यो पतनको कथा अन्त्य होइन । समाधान पनि यहीँ छ— जब शिक्षक फेरि आफ्नो गुरु–धर्ममा फर्किन्छन्, जब उनीहरूले शिक्षणलाई पेसा होइन, पवित्र आह्वानका रूपमा ग्रहण गर्छन्, तब नै शिक्षा र समाज दुवै पुनर्जीवित हुन्छन् । असल शिक्षक बन्ने बाटो कठिन छ, तर असम्भव होइन ।शिक्षकको अस्तित्व केवल कक्षा कोठासम्म सीमित हुँदैन । उनीहरूको भूमिका राष्ट्रको नैतिक, सामाजिक र बौद्धिक मेरुदण्डका रूपमा फैलिएको हुन्छ । जब शिक्षक निष्पक्ष, इमानदार र निष्ठावान् हुन्छन्, तब विद्यार्थीको मनमा शिक्षाप्रतिको श्रद्धा बस्छ । तर जब शिक्षक स्वार्थ, राजनीतिक प्रभाव र अनैतिक लाभमा रमाउन थाल्छन्, तब विद्यार्थीको चेतना पनि विकृत हुन्छ । आजको युगमा शिक्षण मिसन होइन, धेरैका लागि पेसा, कहिलेकाहीँ पद र प्रभावको साधन बनेको छ । यसले शिक्षाको मूल दर्शन— ‘सत्यमेव जयते’ लाई कमजोर बनाएको छ ।असल शिक्षकको पहिलो पहिचान उनको स्वतन्त्रता र विवेक हो । शिक्षकको सोच कुनै दल, धर्म वा प्रवृत्तिले नियन्त्रण गर्न मिल्दैन । उनी स्वतन्त्र चेतनाका प्रतिनिधि हुन् । जसरी दीपकले प्रकाश फैलाउँछ तर आगोले उसको आधार जलाउन सक्दैन, त्यस्तै शिक्षकले समाजलाई ज्ञानको उज्यालो दिन्छन् तर अन्धो निष्ठा र स्वार्थले उनलाई जलाउन पाउँदैन । दुर्भाग्यवश, अहिले धेरै शिक्षकहरू यस्ता दलगत संघ–संगठनमा आबद्ध भएका छन्, जसले उनीहरूको स्वतन्त्र विवेकलाई नष्ट गर्दैछ । उनीहरूले आफूलाई शिक्षाको सिपाही होइन, दलका कार्यकर्ता बनाएका छन् ।असल शिक्षकले यस्तो अन्धकारमा पनि प्रकाश फैलाउँछन् । उनी राजनीतिक दबाबभन्दा माथि उठ्छन्, सत्य र न्यायका पक्षमा अडान लिन्छन् ।जब शिक्षकको कलम राजनीतिक आदेशको अधीनमा चल्छ, तब शिक्षा मृत हुन्छ । विद्यालय र विश्वविद्यालयहरू ज्ञानको मन्दिर होइन, प्रचारका केन्द्र बन्न पुग्छन् । शिक्षकहरू नीतिगत निर्णयहरूमा आफ्नो स्वार्थका आधारमा आवाज उठाउँछन्, विद्यार्थीहरू विभाजनमा तानिन्छन्, र शिक्षालयहरूको आत्मा दिशाहीन हुन्छ । यस्तो अवस्थामा शिक्षा केवल डिग्री उत्पादनको माध्यम बन्छ, विचार उत्पादनको होइन ।तर असल शिक्षकले यस्तो अन्धकारमा पनि प्रकाश फैलाउँछन् । उनी राजनीतिक दबाबभन्दा माथि उठ्छन्, सत्य र न्यायका पक्षमा अडान लिन्छन् । उनी विद्यार्थीका आँखा खोल्छन् ताकि विद्यार्थीहरू सोच्न, प्रश्न गर्न र आफ्नो विवेक प्रयोग गर्न सिकून् । असल शिक्षक कुनै विचारको अनुयायी होइन, ज्ञानको साधक हुन्छ । उनीहरूले सिकाउँछन्, सत्यलाई खोज्नु, प्रश्न गर्नु र अनुभव गर्नु शिक्षा हो— अनुकरण गर्नु होइन ।असल शिक्षकको अर्को पहिचान हो– मानवता र संवेदनशीलता । उनी विद्यार्थीलाई केवल अंकद्वारा होइन, अनुभूतिद्वारा मापन गर्छन् । असल शिक्षकले बुझ्छन्— विद्यार्थी केवल पाठ्यपुस्तक पढ्नका लागि विद्यालय आउँदैन, ऊ जीवनको उत्तर खोज्न आउँछ । त्यसैले शिक्षकले पाठको व्याख्या मात्र होइन, जीवनको व्याख्या पनि गर्नुपर्छ । शिक्षकको बोली, हाउभाउ र व्यवहार विद्यार्थीको हृदयमा बस्छ । साँचो शिक्षकले आफूलाई कहिल्यै ‘श्रेष्ठ’ ठान्दैन, बरु ‘सेवक’ ठान्छ—विद्यार्थीको सम्भावनालाई उजागर गर्ने सेवक ।अहिलेको समय भौतिक प्रगतिले भरिएको छ— तर आत्मिक शून्यताले पनि । प्रविधि र आधुनिकताले मानिसलाई सजिलो जीवन त दिएको छ, तर संवेदना, नैतिकता र सरलता हराउँदै गएको छ । यस्ता अवस्थामा शिक्षकले केवल पाठ पढाउने होइन, मूल्य सिकाउने जिम्मेवारी पनि लिनुपर्छ । शिक्षकले विद्यार्थीलाई प्रतिस्पर्धा मात्र होइन, सहकार्य पनि सिकाउनुपर्छ; उपलब्धि मात्र होइन, नैतिकता पनि सिकाउनुपर्छ । शिक्षाको गहिरो अर्थ हो—जीवनका हरेक कठिनाइमा नैतिक बलले उभिन सक्ने नागरिक तयार गर्नु ।
