भाद्र २३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनी र त्यसले निम्त्याएको उथलपुथलले नेपाली कांग्रेसभित्र सबैभन्दा धेरै संवेदनशील एवं आत्मचिन्तनमा लागेको कुनै नेता छ भने, ती नेता गगन थापा हुन्। यो कुरा प्रामाणिक किन हुन्छ भने गगन नै त्यो घटनापछि देशवासी र कांग्रेसजनलाई सम्बोधन गर्ने मूलधारका पार्टीका पहिला नेता बने। उनले कुनै नौलो काम गरेका होइनन्, केवल कार्यकर्ता र आम जनताको भावनालाई वाणी दिने काम गरेका मात्र हुन्। नेताको काम भनेको नै उपयुक्त समयमा जनताको आवाजलाई मुखरित गर्नु हो।तिनै गगन थापाले नेपाली कांग्रेसको असोज २८ देखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा कार्तिक १३ गते बिहीबार कार्यवाहक सभापति पूर्णबहादुर खड्का मार्फत सिङ्गो कार्यसमितिलाई ‘चेकमेट’ दिए। ‘चेकमेट’ विशेष गरी चेस खेलमा प्रयोग गरिने शब्द हो। राजालाई घेराबन्दीमा पारेर आत्मसमर्पण गर वा हार स्वीकार गर भन्नका लागि त्यो शब्द सम्भावित विजेता पक्षले भन्ने शब्द हो। खासमा कांग्रेसमा ‘चेकमेट’ को शृङ्खला महाधिवेशन प्रतिनिधिहरूले शुरु गरेका हुन्। विशेष अधिवेशनको माग गर्दै कांग्रेसका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कांग्रेसको वर्तमान कार्यसमितिप्रति विश्वास भङ्ग भएको घोषणा थियो। त्यसका लागि प्रारम्भिक वाणी भर्ने काम भने कांग्रेस महामन्त्री गगन थापाले नै गरेका थिए। नेपाली कांग्रेस पार्टीलाई समयानुकूल हिँडाउन दिशामा छेडिएको त्यो एउटा ब्रह्मास्त्र थियो।
अधिवेशनबारे पार्टीको वैधानिक व्यवस्था
कांग्रेसमा नियमित अधिवेशन र विशेष गरी दुई प्रकारका अधिवेशनको प्रावधान छ। नियमित अधिवेशन प्रत्येक चार वर्षमा गर्नुपर्ने व्यवस्था छ भने विशेष अधिवेशन विधानको दफा १७ (२) मा उल्लेख भएअनुसार केन्द्रीय कार्यसमितिले सोझै डाक्न सक्नेछ वा १७ (२) अन्तर्गत ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर भएको तीन महिनाभित्र डाक्नु पर्नेछ।
कांग्रेसका पछिल्ला तीन अधिवेशनहरू चार वर्षमा नभएर साढे पाँच वर्षमा गर्ने गरिएका थिए। पार्टीको संकटकालीन धारा र संविधानको धारामा टेकेर चार वर्षे नियमित समयावधिलाई विना कारण डेढ वर्ष लम्ब्याउने गरिएको थियो। वर्तमान संस्थापनको नियत त्यही दिशामा लक्षित रहेको कुरा लुकाउनु परेन ।
२०७२ मा शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भए यता कांग्रेसको कुनै पनि केन्द्रीय कार्यसमितिको बैठक समयमा राख्ने गरिएको छैन। बैठकहरू अत्यन्त लम्ब्याउने प्रचलन थापित भएको छ। त्यो कडीलाई नयाँ कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समेत निरन्तरता दिएका छन्। कांग्रेसको लम्बिँदै गएको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार हठात स्थगित हुँदा कार्यकर्ताको मनमा चिसो पस्नु स्वभाविक हो।
महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिमा पेश गर्न अनुमति नपाउने भएपछि महामन्त्री थापाले बिहीबारको बैठक बहिष्कार गरेका थिए । शुक्रबार बैठक शुरु हुने भए जसरी भएपनि महाधिवेशनको कार्यतालिका बैठकमा पेस गर्ने चेतावनी कार्यवाहक सभापतिलाई दिएका थिए। कार्यवाहक सभापतिले मध्यमार्ग रोजेर तत्कालका लागि बैठक स्थगित गरेर आइतबार अर्थात् १६ कार्तिकसम्मको समय लिएका छन् ।
५५ प्रतिशत हस्ताक्षरले ल्याएको हलचल
भाद्र २३ र २४ को प्रदर्शनीले राष्ट्रिय राजनीतिमा एउटा उथलपुथल लिएर आयो । यही पृष्ठभूमिमा कांग्रेसका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको स्वतःस्फूर्त हस्ताक्षर संकलन गरे र त्यसलाई असोज २९ गते केन्द्रीय कार्यालयमा दर्ता नम्बर १०१ सहित दाखिल गरिएपछि पार्टीभित्र ठूलो कम्पन पैदा भयो । हस्ताक्षर अभियान आह्वान भएलगत्तै प्रारम्भ हुनुअगाडि यसको खिलाफमा प्रतिरोधका स्वरहरू देखा परे। त्यो सङ्गठित प्रतिरोधको अभियान सुदूरपश्चिम प्रदेशबाट शुरु भएर त्यहीँ अन्त्य भएको थियो।
५५ प्रतिशत हस्ताक्षर सङ्कलन हुँदै गर्दा हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई अनेक प्रलोभन देखाएर हस्ताक्षर फिर्ता गर्न/गराउने कोसिस भयो र त्यो कोसिस अद्यापि जारी छ। तर आफ्नो स्वविवेक प्रयोग गरेका कार्यकर्ताहरू कुनै पनि प्रलोभनमा नफसी कुनै वंश वा अंश पाएका दाइ या भाउजूको विवेकको सौदा गर्न मञ्जुर हुने कुरा थिएन।
त्यसपछि उनीहरूले महाधिवेशन प्रतिनिधिहरूको समयावधि सकिएकाले उनीहरूले गरेको हस्ताक्षरको अर्थ नहुने समेत भन्न भ्याए। त्यो तर्क अति नै हास्यास्पद तर्क थियो किनकि नेपाली कांग्रेस पार्टीको विधानको दफा ७२ (३) अनुसार नयाँ महाधिवेशन प्रतिनिधिहरू चयन नहुन्जेल पुराना महाधिवेशनको कार्यकाल यथावत् हुन्छ।
विशेष महाधिवेशनले पार्टी फुटाउने अतिरञ्जित हल्ला
त्यो तर्कसँगै अर्कातर्फ तिनै नेताहरू समानान्तर शैलीमा विशेष महाधिवेशनले पार्टी फुटाउँछ भन्ने तर्कको सहारा लिएका छन्। उनीहरूलाई यो पनि हेक्का छैन कि पार्टी बहुमतले होइन, अल्पमतले फुटाउँछ। २०७८ सालमा १४औँ महाधिवेशन हुँदा कांग्रेस कार्यकर्ताहरूको मत जे थियो, यो चार वर्षमा पूर्णतया बदलिएको छ भन्ने कुरा विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरको सङ्ख्याले पुष्टि गरिसकेको छ अर्थात् बहुमत सरेको छ। किनकि केन्द्रीय कार्यसमितिमा भएको सङ्ख्या बहुमत होइन, बहुमत प्रतिनिधिले चुनेका प्रतिनिधि मात्र हुन्। तसर्थ, बहुमत महाधिवेशन प्रतिनिधि जता जान्छन्, त्यतै बहुमत हुन्छ।
केन्द्रीय कार्यसमिति कार्यकारी समिति मात्र हो। पार्टीको सर्वोच्च कार्यकारी निकाय त फेरि पनि महाधिवेशन नै हो। यदि महाधिवेशन प्रतिनिधिहरूले अभिव्यक्त गरेको आकाङ्क्षा र भावना अनुरूपको काम केन्द्रीय समितिले गर्न सकेन, चाहेन वा यो या त्यो बहानामा आनाकानी गर्यो भने घोक्रेठ्याक लगाउने काम तिनै महाधिवेशन प्रतिनिधिको हुन जान्छ।
