थाहा छ, शीर्षकले नै कतिपयको मनै अमिलो बनाउने निश्चित छ । तर सत्य के हो भने; उत्तरी छिमेकी, भीमकाय मुलुक चीनमा देङ स्याओ पिङ, मलेसियाले समेत लिन अस्वीकार गरेको सिंगापुरमा ली क्वान यू र दक्षिण अफ्रिकामा नेल्सन मण्डेला नेतृत्वमा आउनुपूर्व उनीहरूका बारेमा समेत अनुहार खुम्च्याउनेहरूको कमी थिएन।
विदेशी एजेन्ट बताएर ट्याक्टर कारखानामा कामदारका रूपमा थन्क्याइएका देङ कामदारबाट बाहिर निस्किएर उनकै नीतिले चीनले आजको चीन बन्न मद्दत पुगेको देख्दा आश्चर्य मान्नुपर्ने हुन्छ।सिंगापुर निर्माणको सपना बोकेका लीले पाएको हन्डर सिंगापुर निर्माणमा उनले उठाएको जोखिम र संकल्प आफैंमा दुस्साहसपूर्ण लाग्छ। तर देङ, ली र मण्डेलाले जोखिम उठाएकै कारण आफूले नेतृत्व गरेको देशलाई माथि त उठाए नै, इतिहासमा समेत स्वर्णिम अक्षरले आफ्नो नाम लेखाए।हो, नेपाल पनि आज त्यस्तै एक थान नेताको तीव्र खोजी तथा व्यग्र प्रतीक्षामा छ । जसले पार्टी, परिवार र बिचौलियाको प्रभावमा नपरी नेपाल निर्माण सम्भव गराओस्।जेनजी विद्रोहपश्चात् नेपालको राजनीतिले नयाँ बाटो तय गर्ने निश्चित छ । तर, त्यसका निम्ति भने केही समय प्रतीक्षा गर्नैपर्ने हुन्छ । प्रसंग शुरु गरौं– ११ मंसिर, २०८२ मा अनलाइनखबरले ‘भावी प्रधानमन्त्री को ?’ शीर्षकमा प्रकाशित गरेको एउटा आलेखबाट। त्यसमा उठाइएको छ-लोकतान्त्रिक देशमा प्रायः चुनावअघि नै भावी प्रधानमन्त्री वा राष्ट्रपतिको सम्भावित उम्मेदवार थाहा हुन्छ।
राजनीतिक दलहरूले चुनावमा जाँदा नै फलानो नेता सरकारप्रमुख बन्नेछन् भनेर जनतासँग भोट माग्छन्। उक्त आलेखमा प्रकाशित विषयपछि आजको मितिसम्म आइपुग्दा भावी प्रधानमन्त्रीका बारे राष्ट्रिय बहस प्रारम्भ भएको पाइँदैन । यसरी बहस प्रारम्भ नगरिनुका पछाडि दुई कारण स्पष्टै देखिन्छ।पहिलो, घोषित मिति, अर्थात् फागुन २१ मा आमनिर्वाचन हुनेमै द्विविधा र दोस्रो कारण हो, नेपालका राजनीतिक दलभित्र ‘टावर पर्सनालिटी’ को खडेरी । तथापि, लोकतन्त्रलाई लयमा ल्याउनका निम्ति पनि निर्वाचन अपरिहार्य छ भने आसन्न कांग्रेस महाधिवेशनमा सभापतिका रूपमा त गगन थापा ‘नो डाउट’, भावी प्रधानमन्त्रीका रूपमा समेत उनलाई हेर्न थालिएको छ।
