गएकाे भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा हालसम्म ६ करोड २४ लाख रुपैयाँ सङ्कलन भएको छ।
जेनजी आन्दोलनका क्रममा विभिन्न सार्वजनिक भवन, सरकारी कार्यालय, स्थानीय निकायका कार्यालय र अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको थियो। ती संरचनाको पुनर्निर्माणका लागि सरकारले असोज २८ गते उक्त कोषमार्फत नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, दातृ निकाय, उद्यमी तथा विभिन्न सङ्घ–संस्थालाई सहयोगका लागि औपचारिक आह्वान गरेको थियो।
सरकारले सहयोगकर्तालाई प्रोत्साहनका रूपमा चालू आर्थिक वर्षभरि कोषमा प्रदान गरिने सहयोग रकमलाई करयोग्य आय गणनामा कटौतीयोग्य खर्चका रूपमा सूचीकृत गर्ने व्यवस्था पनि गरेको छ।
सङ्कलित रकम ‘राष्ट्रिय वाणिज्य बैंक’ सिंहदरबार शाखामा खोलिएको विशेष खाता नं. १९६०१००१०२०७०००४ मार्फत व्यवस्थापन गरिँदै आएको सरकारको जानकारीमा उल्लेख गरिएको छ।
