नेपाली काँग्रेसको नियमित महाधिवेशनको माग गर्दै आइतवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरिएको छ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायतका काँग्रेसका कार्यकर्ताहरूले पार्टीभित्र सुधार र रुपान्तरणको माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले युवाको प्रतिनिधित्व सुनिश्चित गर्न र पार्टीका सबै तहका निर्वाचनमा ४० वर्ष मुनिका ४० प्रतिशत युवालाई समावेश गर्नुपर्ने माग गरेका छन्।
प्रदर्शनका क्रममा बोल्दै नेविसंघ सदस्य भूवन भट्टले नेपाली काँग्रेस सुधार अभियान चलाइरहेको बताउनुभयो। उहाँले काँग्रेसभित्र सुधार र रुपान्तरणको मुद्दा उठाइएको भन्दै नवयुवाको परिवर्तनको आकांक्षालाई बेवास्ता गर्न नहुने चेतावनी दिनुभयो।
भट्टले मुलुकलाई नेतृत्व गर्नुपर्ने काँग्रेस अहिले पार्टीभित्रै रुमल्लिएको टिप्पणी गर्दै युवाहरूको आवाजलाई बेवास्ता नगर्न नेतृत्वरूपमा आग्रह गर्नुभयो।
उहाँले पार्टीको नियमित महाधिवेशन तत्काल घोषणा गर्न र आम कार्यकर्ताको भावना समेट्दै पार्टीलाई समयसापेक्ष रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
