देशभरका बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप रकम ७४ खर्ब ७५ अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांक अनुसार, पछिल्लो समय निक्षेप वृद्धि दर निरन्तर बढ्दो क्रममा छ।
कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकहरूले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन्। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन्। वाणिज्य बैंकहरूले मात्रै ५० खर्ब १२ अर्ब कर्जा लगानी गरेका छन्।
राष्ट्र बैंकका अनुसार विकास बैंक तथा फाइनान्स कम्पनीहरूले ७ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेका छन् भने ६ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेका छन्। यस अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७४.२५ प्रतिशतमा सीमित रहेको छ। यसले बैंकहरूको कर्जा प्रवाह गर्ने क्षमता अझै प्रशस्त भए पनि बजारमा माग सुस्त रहेको संकेत गर्छ।
हाल कर्जाको माग निरन्तर घट्दो क्रममा छ। बैंकहरूले निर्धारण गर्ने औसत आधार दर पनि महिनैपिच्छे घट्दै आएको छ। कात्तिक महिनाका लागि औसत ब्याजदर ५.६७ प्रतिशत निर्धारण भएको छ, जुन विगतका वर्षहरूभन्दा निकै कम हो। यसमा बैंकहरूले सामान्य प्रिमियम थप गरेर कर्जा लगानी गर्दै आएका छन्, तर त्यसले पनि कर्जा प्रवाहलाई तीव्र बनाउन सकेको छैन।
निजी क्षेत्रका लगानीकर्ताहरू जेन–जी आन्दोलनका क्रममा देखिएका हिंसात्मक गतिविधिहरू र व्यवसायिक घरानामाथि भएका आक्रमणपछि त्रसित बनेका छन्। नेपाल उद्योग वाणिज्य महासंघसहितका निजी क्षेत्रका छातासंस्थाहरूले सरकारसँग शान्ति–सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण सुनिश्चित गर्न बारम्बार माग गरिरहेका छन्।
कर्जा माग सुस्त रहँदा बैंक र वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको छ। यस अवस्थालाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले दीर्घकालीन मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। हालै राष्ट्र बैंकले १ सय ७५ दिन अवधिका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। अघिल्लो साता पनि यस्तै अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ बजारबाट उठाइएको थियो।
राष्ट्र बैंकका अधिकारीहरूका अनुसार, पछिल्ला वर्षहरूमा यति लामो अवधिका लागि निक्षेप संकलन गरिएको पहिलोपटक हो। बैंकहरूले तत्काल कर्जा प्रवाह बढाउने सम्भावना नदेखिएकाले राष्ट्र बैंकले दीर्घकालीन रूपमा निक्षेप व्यवस्थापनमा जोड दिएको बताइएको छ।
