अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलन सम्बन्धित अभियन्ता रक्षा बमलाई मन्त्री बनाउने तयारी गरेको अवस्थामा हामी नेपालका संस्थापक सुधन गुरुङले फोन संवादको अडिओ सार्वजनिक स्रोतमा आइपुगेको छ। प्राप्त अडिओमा गुरुङले रक्षा बमलाई मन्त्रीत्वबाट रोक्न आफूले भूमिका खेलेको दावी गर्नुभएको छ।
नेपाल प्रेसलाई प्राप्त त्यो अडिओ रेकर्डिङ् रानीबारीस्थित 'हामी नेपाल' कार्यालयमै गरिएको बताइएको छ। रेकर्डिङमा गुरुङसहित अफ्साना बानु, गुन्जन शाह, खेमराज साउद, जेम्स कार्की लगायतको उपस्थितिको उल्लेख छ। अडिओअनुसार गुरुङले गृहमन्त्रीका सचिव धिरज जोशीलाई फोनमार्फत रक्षा बमलाई मन्त्री बनाउनु नहुने गरी तर्क प्रस्तुत गर्नुभएको सुनिन्छ।
गुरुङ अडिओमा भन्छन् “रक्षा बम हुनुहुँदैन भनेर हामीले भनेका छौँ। उसको एनजीओ, आईएनजीओमा नाम मुछिएपछि हामीले रोकेको हो।”
त्यसै क्रममा अन्य उपस्थित रहेको समूहमा कैयौँ गोप्य संवादहरू पनि रेकर्ड भएका छन् जसमा केहीले आक्रामक भाषा र हिंसात्मक अभिव्यक्ति समेत गरेको अडिओमा सुन्न सकिन्छ। अडिओमा समूहका एक सदस्यले ‘त्यो मान्छेलाई थुक्छौं’, ‘कुटिन्छ दाइ’ र ‘गृहमन्त्रीलाई नै कुटिदिने’ जस्ता अभिव्यक्ति गरेको शब्दसमेत सुन्न पाइन्छ।
अडिओमा देखिएका संवादले राजनैतिक नियुक्ति र पृष्ठभूमि सम्बन्धी विवाद तीव्र भएको संकेत गर्छ। एक पक्षले रक्षा बमप्रति आर्थिक र संस्थागत पारदर्शितासम्बन्धी प्रश्न उठाएको हुँदा उनलाई नियुक्ति नदिन प्रेरणा मिलेको गुरुङले अडिओमा बताउनुभएको छ। अर्कोतिर समूहका केहिले सुदूरपश्चिमको प्रतिनिधित्व र समुदायको अधिकारसमेत उचालेका छन्।
उक्त अडिओमा सुधार रक्षाका अभियन्ता तथा जेनजी समूहबीच चल्दै आएको आन्तरिक छलफल र भावनात्मक प्रतिक्रियाहरू स्पष्ट रुपमा सुनिन्छन्। गुरुङले आफूले सुदूरपश्चिमको प्रतिनिधि तबरबाट समूहसँग परामर्श गरेर काम गर्नुपर्ने बताएपछि विवाद झन् बढेको देखिन्छ।
यसबारे रक्षा बम, सुधन गुरुङ वा सम्बन्धित अन्य ब्यक्तिको प्रत्यक्ष प्रतिक्रिया उपलब्ध नभएको जानकारी छ। घटना सम्बन्धमा प्रमाण र उद्धरण सार्वजनिक भएसँगै राजनीतिक वरपरका धार तथा नियुक्ति प्रक्रियाको पारदर्शिताबारे सवाल उठेको छ।
प्राप्त अडिओ र सार्वजनिक भएको संवादका आधारमा थप अनुसन्धान तथा सत्यापन आवश्यक देखिन्छ।
