यतिबेला पुर्वका लिम्बू समुदाय धुमधामले चासोक थिसोक (चासोक तङ्नाम) मनाइरहेका छन् । खेतबारीमा लगाएको अन्नबाली थन्काउने बेलामा चासोक थिसोक मनाउने गर्छन्। पछिल्लो तीन दशकयता भने यो सांस्कृतिक चाडलाई ‘चासोक तङ्नाम’ भन्न थालिएको छ।अन्नबाली खेतबारीमा फल्न वा पाक्न थालेपछि आफ्नो समयअनुकुल कात्तिकदेखि मंसिर–पुसमा थन्काउने गरिन्छ । औल तिर केही साता चाडै पाक्ने भएकाले कात्तिक तिरै अन्नबाली थन्काउछन् । तर लेक तिरको अन्नबाली पाक्न केही समय बढी लाग्ने भएकाले मंसिर पुस पर्खिनु पर्छ। पाक्ने समय एकै नास नहुदा कसैले कात्तिकमै चासोक थिसोक मनाउने गरेका छन् भने कसैले मंसिर पुसमा।सरकारले भने यो चासोक थिसोकलाई अन्य प्रकृतिपुजक आदिबासीको मंसिरे पूर्णिमालाई उद्यौली पर्वमा समावेश गरेर विदा दिने गरेको छ। यद्यपि, याक्थुङ लिम्बू समुदायले मनाउने चासोक थिसोक उद्यौली पर्व होइन । उद्यौली र उभौली पर्वसंग चासोक थिसोकको इतिहास र साइनो जोडिन्न।
मुजिङ्ना खेयङ्नाले ल्याएको अन्नबालीको बिउ र मर्चा
याक्थुङ मुन्धुमसावा भवानी अन्छङ्बो, मुन्धुमविदहरु बैरागी काइला, तुम्याहाङ लक्ष्मण मेन्याङ्बो, तुम्याहाङ एसवी ताप्मादेनहरुका अनुसार याक्थुङ मुन्धुमले लिम्बूका पुर्खाहरुलाई सावायेहाङ भन्छ। मुन्धुमअनुसार सावायेहाङहरु आदिमकालका अगुवा स्त्री मुजिङ्ना खेयोङ्ना (मुजिङ्ना मयङ्ना) का सन्तान हुन्।
तिनै आदिम स्त्री मुजिङ्ना खेयोङ्नालाई तागेरानिङ्वाफुमा(ङ) (सर्वसशक्तिमान प्रकृति) ले नै अन्नबालीको विउविजन दिएपछि उनले त्यो अन्नबालीको विउविजन पाखा भित्तामा भस्मे फाडेर छरपोख गर्छिन्।अन्नबालीको विउविजनसंगै उनले तागेरानिङ्वाफुमाबाट मर्चा बनाउने र जांड बनाउने विधि पनि सिकेर आएकी हुन्छन् । उनले आफुबाट फैलिएका सन्तानहरुलाई अन्नको वीउ विजन र मर्चा र अन्नको जांड बनाउने विधि पनि सिकाउछिन्।मुन्धुमसावा अन्छङ्बो भन्छन्, ‘अन्नबाली चाही सावायेहाङहरुको शरीरमा पौष्टिक आहार मिलोस भनेर दिएको हो भने मर्चा र जांड भने त्यो प्राचीन समयमा घाउचोट लाग्दा, थकित हुदा शारिरिक दुखाई कम गराउने अहिलेको एनेस्थेसिया वा पेनकिलर जस्तै हो ।’उनका अनुसार अन्नबालीका विउ लिदा र मर्चा र जांड बनाउने विधि सिकेको बेला मुजिङ्ना खेयोङ्ना सुरितकेजङमा बतास (अनाम वेनाम कुनै पुरुष?)संग सहवास गरेर गर्भवती भएकी थिइन्। निर्धारित नौ महिना पछि नवजात शिशु जन्मदा प्रशव पिडाले सताउने भएकाले त्यो पिडालाई कम गर्न मर्चाले बनेको कोदोको जांड बनाएर खानु भनेर उपदेश दिएकाले आदिम स्त्री मुजिङ्ना खेयङ्नाले पनि तागेरानिङ्वाफुमाको निर्देशन पालना गर्छिन्।मुजिङ्ना खेयोङ्ना तरुनी भएपछि यौन सहपाठी खोज्ने क्रममा रुखको कापेमा बसेर सुसेलेको र बताससंग संसर्ग गरेर गर्भवती भएको स्थल ताप्लेजुङको फक्ताङ्लुङ गाउ पालिकास्थित तमर नदी (स्थानीय र याक्थुङ मुन्धुमी भाषामा इम्बिरी याङ्धाङ्वा) किनारमा पर्ने सांगुयक कोपियकमा सुरितकेजङ डाडा रहेको मुन्धुमले बर्णन गरेको छ।
अन्नबालीको विउ छर्ने, बाड्ने र मर्चा, जांडको प्रयोग गर्ने मुजिङ्ना खेयोङ्नाले पहिलो बच्चा सुसुवेङ लालावेङ् जन्माएर सालनाल काटेर धोइपखाली गरी नुहाइदिएको र जंगली बेसारका सुकेका पातको थाङ्ना बनाएर राखेको स्थललाई थाप्लाङ्वा भनिन्छ जुन साविक तापेथोकको छिरुवानीमा पर्छ। थाप्लाङ्वाको भित्ता पहराका छन् । पहराको चेपबाट एकातिरबाट सेगाङ्वा र अर्को तिरबाट लेगाङ्वा झरना वग्छ र केही समथर परेको थाप्लङ्वा हुदै करिव दुइसय मिटर तल वगेपछि तमर नदीमा मिसिन्छ।
मुजिङ्ना खेयङ्नालाई तागेरा निङ्वाफुमाले तीन महिनामा पाक्ने अन्नबालीहरु पारामा (पाङ्दुरे कोदो), पया (कागुनो), घैया (धान), लेकमा हुने धान ताक्मारुया ?, तुम्री, साङ्घामाका बिउ दिन्छन् । उनले ल्याएको विउ छरपोख गरेर फैलिएजस्तै सावायेहाङहरु पनि इम्बिरीयाङ्धाङ्वा (तमर आसपास) फैलिन्छन्।
मुजिङ्ना खेयङ्नाले सुसुवेङ् लालावेङलाई जन्म दिन्छन् । वयस्क भएपछि सुसुवेङ लालावेङले आफुलाई महान शिकारीको रुपमा चिनाउन आफ्नो नाम बदल्दै सावायुक्पुङकेम्बा राखेपछि थोसुलुङ्मा फियमलुङ्मा र उनका साथी सुसाङ्लिङ्मा, योसुलुङ्मा चुगुतलुम्मा र उनका साथी तुसाङ्लिङ्मा संग बेग्ला बेग्लै ठाउमा भेट भएर सहबासी गर्छन्।सहबासको नतिजा सन्तान फैलिन्छन्। अर्थात थोसुलुङ्मा फियमलुङ्माबाट सुच्छुरु सुहाम्फेवा, सुसाङ्लिङ्माबाट थोसुखेवा साम्दाङखेवा, योसुलुङ्मा चुगुतलुङ्माबाट तेत्लारा लाहादङ्ना र तुसाङलिङ्माबाट योसुखेवा लिङ्दाङ्खेवा जन्मिन्छन्।याक्थुङ मुन्धुमले आदिमकालमा अन्नबाली छरपोख गरेर उव्जाउने विधि पहिले सिकेको जानकारी दिन्छ। त्यसपछि मात्र विवाह संस्कार, घर बनाउने संस्कार, साइनो सम्बन्ध गांस्ने, मृत्यु संस्कार आदिलाई अंगाल्ने चलन सुरु भएको देखिन्छ।
