गत जुन २४ देखि जुलाइ ११ सम्म (असार १०–२७) हामी चीनको सिचाङ (पुरानो नाम तिब्बत) भ्रमणमा थियौं।भ्रमण क्रममा हामीलाई जुन २९ आइतबार साँझ एउटा गीती–नाटक देखाउन लगियो।सातौं शताब्दीका तिब्बती सम्राट स्रङचङ गम्पोले थाङ राजवंशकी राजकुमारी वेनछनसँग बिहे गरेको ऐतिहासिक गीती–नाटकको नाम थियो— राजकुमारी वेनछनको विवाह।मैले यो गीती–नाटक सन् २०१९ मा पनि हेरेको थिएँ। भव्य गीती–नाटकको महत्वजस्तै यसलाई प्रदर्शन गरिने थिएटर पनि अनुपम छ।यो एउटा विशाल खुला आकाशमुनि बनाइएको थिएटर हो। अग्लो पहाडको छेउमा विशेष तरिकाबाट डिजाइन गरिएको थिएटरमा एकै पटक सात सयभन्दा बढी कलाकार मञ्चमा देखा पर्छन्।कलामा निपुण तिब्बती अभिनेता, अभिनेत्री र नर्तकहरूको कलाले सबैलाई मन्त्रमुग्ध बनाउँछ।वास्तवमा यो यस्तो गीती–नाटक हो जहाँ परम्परागत तिब्बती नृत्य र गायनका साथै विभिन्न कला र संस्कृतिको बेजोड सम्मिश्रण छ। यो गीती–नाटकमा सात सयभन्दा बढी मानव कलाकार बाहेक सयौंको संख्यामा च्यांग्रा र भेडा पनि प्रयोग गरिएको छ। मञ्चमा दर्जनको संख्यामा याक र त्यति नै संख्यामा घोडाको प्रवेशले पनि नाटकलाई उत्तिकै जिवन्त बनाउँछ। केही कुकुर पनि कलाकारसँगै देखा पर्छन्।चिनियाँ अल्पसंख्यक तिब्बती जातिका पुराना लोकनृत्य र गायन समेटिएको यो नाटकमा विभिन्न तिब्बती उत्सवहरूमा मात्र देख्न पाइने गुओझुआङ नृत्य, अर्गा नृत्यर तिब्बती ओपेरा गायनसँगै पुराना चलनलाई कलाले ओतप्रोत गरेर प्रस्तुत गरिन्छ।यस गीती–नाटकमा मुख्य गरी पाँच भाग छन्।डेढ घण्टाको नाटकमा 'प्राचीन थाङ राजवंशको आकर्षण', 'स्वर्ग र पृथ्वीको बौद्ध संगीत', 'तिब्बती नृत्यको महान सौन्दर्य', 'पठारका देवता' र 'तिब्बती र हान बीचको सामञ्जस्यपूर्ण सौन्दर्य'।प्रत्येक भागमा थाङ र प्राचीन तिब्बतीबीच रहेको अद्वितीय संस्कृति र जीवनशैली विभिन्न बिम्ब र अभिनयबाट प्रस्ट्याइन्छ। नाटक प्रस्तुत भइरहेको समयमा पृष्ठभागमाल्हासाका भव्य दृश्य प्रविधि मार्फत देखाइन्छ।
मञ्चमा थ्रिडी सेटिङमार्फत पोताला दरबार र जोखाङ मन्दिरका डमी देखाइन्छ। नाटकमा देखाइने पोतला दरबारको डमी सय मिटर लम्बाइ र २० मिटर उचाइको छ।
यी दृश्य हेर्दा जोखाङ र पोतलाभन्दा बढी यथार्थ जस्तो अनुभूति हुन्छ। पोतला दरबार र जोखाङ मन्दिरका डमीलाई विद्युतीय लिफ्टमार्फत सरर ल्याउँदा दर्शकहरू आश्चर्यचकित हुन्छन्।त्यसैगरी पुरानो ल्हासामा बालिएका धुप र बत्तीसँगै माथिल्लो पहाडी भागमा हिउँ परेको दृश्य देखाउन मञ्चको पृष्ठभागमा रहेको पहाडमा बत्तीको संयोजनबाट साँच्चै हिउँ परिरहेको भान दिन नाटक सफल हुन्छ।नाटकमा भव्य र शानदार दृश्यछन्। प्रविधि प्रयोग गरेर विविध बत्तीको प्रकाश, फूलहरूको विशाल बगैंचा, गहुँबारी र जौबारी तथा उवाबारीका लहलहाउँदा बाली देख्ता दर्शकलाई आनन्द लाग्छ।त्यसैगरी ल्हासा नदी जमेर बरफमाथि गाडा तान्दा तानेको दृश्य निकै सबल छ। गाडा तान्ने क्रममा देवता रिसाएको अथवा साइत बिग्रिएपछि गाडा अगाडि जानुको सट्टा पछाडि सर्न थाल्छ। यस्तो बेला त्यहाँ याक आउँछ।याकले शुभशकुन दिएपछि बल्ल गाडा अगाडि बढेको दृश्यले पुरानो तिब्बतको चलन र विश्वासलाई छोटो दृश्यमा निकै मार्मिक तरिकाले देखाउँछ।ल्हासा नदीकै किनारमा रहेको 'राजकुमारी वेनछन थिएटर' सन् २०१३ मा निर्माण सम्पन्न भएर सोही वर्ष जुलाइदेखि सञ्चालनमा आएको हो।यो २४,६११.८ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ। यो एक विशाल थिएटरमा ४ हजारभन्दा बढी दर्शकहरू अटाउन सक्छन्। यसको निर्माणमा ७५ करोड चिनियाँ युआन अर्थात् एक अर्ब ५० करोड नेपाली रूपैयाँ हाराहारी खर्च भएको छ।
वेनछन तत्कालीन थाङ राजवंशका बादशाह ताई चोङकी छोरी हुन्। थाङ राजवंशको राजधानी सिआनमा थियो। ल्हासादेखि लगभग २ हजार माइल पूर्वतिर।
तिब्बती सम्राट स्रङचङ गम्पो बेहुलो बनेर वेनछनलाई लिन गएका थिएनन्। उनका कारिन्दाहरू गएका थिए। वेनछनलाई माइती घरबाट अन्मिएर ल्हासा आइपुग्न एक वर्ष लागेको थियो।
स्रङचङले वेनछनसँग जसरी बिहे गरे, त्यसरी नै नेपाली राजकुमारी भृकुटीसँग पनि बिहे गरेका थिए। भृकुटी बिहे गरेको केही वर्षपछि स्रङचङले वेनछनसँग बिहे गरेका हुन्।
ल्हासामा अत्यधिक चिसो र हिउँ पर्ने भएकाले यो थिएटर लगभग ६ महिना मात्र खुल्छ। सामान्यतया अप्रिल २० देखि अक्टोबर ३१ सम्म खुल्छ। अक्टोबरको मध्यदेखि नै हिउँ परेमा त्यो बेला नै थिएटर बन्द हुन सक्छ।
खुलेका ६ महिनामा हरेक दिन राति साढे नौदेखि एघार बजेसम्म प्रदर्शन हुने यो गीती–नाटकको टिकट शुल्क ३८०, ४८०, ५५०, ८८० र १२८० युआन छ। नेपाली मुद्रामा ७ हजार ६ सय रूपैयाँदेखि २५ हजार ६ सय रूपैयाँसम्म पर्न आउँछ।
अब कुरा गरौं यो गीती–नाटकमा भृकुटीलाई छुटाइएको बारे।
