देशको अवस्था ठिक छैन । नेपालको राजनीति इतिहासकै सबै भन्दा संवेदनशील मोडमा उभिएको छ ।व्यवस्था परिवर्तन भएको डेढ दशक बितिसक्दा पनि नागरिकको जीवनस्तरमा तात्त्विक परिवर्तन अनुभव भएन । राजनीतिक दलहरू सत्ताको लुछाचुँडीमा मात्र केन्द्रित भए ।एकपछि अर्को गर्दै भ्रष्टाचारका ठुला काण्डहरू सार्वजनिक हुँदैछन् । समग्रमा देश नै डरलाग्दो ‘अधोगति’ तर्फ गएको भान हुँदैछ । आजको राजनीतिलाई नियाल्न आलेखमा निम्न आँखीझ्याल प्रयोग गरिएको छ ।
राजनीतिक ध्रुवीकरणको नयाँ स्वरूप
राजनीति विभिन्न स्वरूपको ध्रुवीकरणमा छ । विगतमा कांग्रेस र कम्युनिस्टबिच हुने यस्ता ध्रुवीकरण सैद्धान्तिक आधारमा हुन्थे । तर अहिले सैद्धान्तिक आधार खिइएर ‘सत्ता स्वार्थको ध्रुवीकरण’ मा सीमित भएको छ । आजको ध्रुवीकरणलाई बुझ्न पुरानो तरिका पर्याप्त छैन । आउनुस् देशमा हुँदै गरेको ध्रुवीकरणका मुख्य आयामहरूबारे चर्चा गरौँ ।
पुराना दलविरुद्ध नयाँ शक्तिको ध्रुवीकरणः
समाज स्पष्ट दुई कित्तामा उभिएको छ । एकातिर कांग्रेस, एमाले, माओवादीलगायत दशकौँदेखि सत्तामा रहेका स्थापित दलहरू छन् भने अर्कोतिर रवि लामिछाने नेतृत्वको रास्वपा, उज्यालो नेपाल, बालेन शाह जस्ता व्यक्तिहरू तथा ‘नो नट अगेन’ भन्ने शक्ति छ ।
आपसमा एक ठाउँमा भएर उभिँदै गर्दा यस्तो ध्रुवीकरण एजेन्डामा भन्दा पनि ‘अस्तित्व’ को लडाइँमा बढी केन्द्रित देखिन्छ । पुराना दललाई आफ्नो स्थापित शक्ति र अस्तित्व रक्षा गर्नुछ । नयाँ शक्तिलाई आफ्नो सम्मानजनक स्थान सुरक्षित गर्नुछ । सबै ‘डु एन्ड डाई’ को अवस्थामा छन् । यस्तो अस्तित्वको लडाइँमा मुलुकको एजेण्डा कतै छायामा त पर्दैन भन्ने आशंका गर्ने ठाउँ धेरै छ ।
