डिपस्टेट राजनीतिशास्त्रको निकै कान्छो शब्द हो । यसको प्रचलन सन् १९९० पछि मात्र शुरु भएको हो । देखिने शासकभन्दा नदेखिने तर राज्यका नीतिलाई प्रभावित गर्ने शक्तिकेन्द्र या व्यक्तिहरूको भूमिकाका सन्दर्भमा यसको प्रयोग हुन्छ ।सामान्यतः डिपस्टेट भनेर अनिर्वाचित या जनता र संसद्प्रति उत्तरदायी हुनु नपर्ने तर राज्य र सरकारका नीति र दैनिक निर्णयहरूलाई प्रभावित गर्ने समूह, नेता, उपल्लो तहका नोकरशाह, व्यापारी, सैन्य तथा सुरक्षा अधिकारी, न्यायाधीश र धर्मगुरुहरू समेतको अदृश्य समूहलाई चिनिन्छ ।पञ्चायतकालमा सूर्यबहादुर थापाले भन्ने गरेको भूमिगत गिरोहलाई पनि डिपस्टेटको रूपमा बुझ्न सकिन्छ । यो परिभाषालाई नेतृत्वमा रहेका केही प्रभावशाली व्यक्तिहरूसँग भिडाएर यहाँ एमालेको डिपस्टेटको चर्चा गरिनेछ ।विषय प्रवेश गर्नु पहिले म कमरेड महेश बस्नेतलाई धन्यवाद दिन चाहन्छु जसले कमरेड केपी शर्मा ओली र उहाँकी धर्मपत्नी कमरेड राधिका शाक्यका लागि वृद्धाश्रम (ओली कुटी) बनाउन पहल गरेका छन् ।वृद्धावस्थामा घर छाडेर काशी या देवघाटतिर गएर कुटी या धर्मशालामा बस्ने चलन आर्य हिन्दु परम्पराका खासगरी ब्राह्मण, क्षत्री, महात्मा र योगी संन्यासी पुरुष र महिलाहरूमा रहँदै आएको छ । कमरेड ओलीले आफ्नो यौवनावस्थाका १४ वर्ष कठोर यातना सहित बन्दीका रूपमा बिताए ।तीन वर्ष भूमिगत जीवन र त्यसपछि सदावहार राज्य सञ्चालनका क्षेत्रमा रहेर मेकियावेलियन/शकुनि (उनी पारिवारिक वैयक्तिक जीवनशैलीका दृष्टिमा वान्नावी एरिष्टोक्र्याट र राजनीति तथा संगठनको कार्यव्यापारका दृष्टिले दासयुगीन पुरा कथाका पात्र शकुनि र सामन्तीयुगको सन्ध्याकालका कूटनीतिज्ञ तथा लेखक मेकियावेलीका अनुयायी जस्ता लाग्छन्) चाल चलेर देश सेवा गरे ।अहिले संन्यासी सरह (संन्यासभित्र एउटा भेद छ भोग संन्यासको) भएका छन् । कमरेड राधिकाले युवावस्थामा तत्कालीन माले निर्माणमा र पछि देशको केन्द्रीय बैंकको अधिकृतका रूपमा आफ्नो उमेर देश सेवामा लगाएकी हुन् । अहिले आफ्ना व्यस्त तर दीर्घरोगी पतिको सेवामा समर्पित छिन् ।उहाँहरूले आफ्नो वृद्धावस्था सम्मानजनक रूपमा, आफूले आर्जन गरेका ज्ञान–गुनका कुरा नयाँ पुस्तासँग शेयर गर्दै शान्तिपूर्वक बिताउन पाउनुपर्छ । उहाँले अब पार्टी र सरकारका दैनिक कार्यबाट विश्राम लिएर कुटीमा बस्ने बेला भएको भन्ने सन्देश त उहाँहरूका पुत्रसमान कमरेड महेशले यो कुटी बनाएर दिएकै छन् ।
Loading...
