कोभिडताका चिया सिड्स (Chia seeds) को चर्चा खुबै थियो । यसलाई खाजाका रुपमा सेवन गर्दा शरीरलाई अनेकन फाइदा हुने चर्चा चलेको थियो । सिड भनेको बिउ हो । सुरुमा चिया सिड्स भनेको त पिउने चियाकै बिउ होला कि भन्ने भ्रम भयो । पछि थाहा भयो– यो पिउने चियाको नभई अर्कै वनस्पतिको बिउ हो । यसको बिउ त तोरीभन्दा सानो, रायो सागको बिउजत्रो तर अण्डाकार, चिल्लो सतह र हल्का सेतो सतहमा खैरा–काला धर्साहरु र केही चाहिँ हल्का सेतो हुँदो रहेछ ।काठमाडौं उपत्यकाको बसाइ । शारीरिक परिश्रम यसै पनि कम हुन्छ । यसकारण उमेर ढल्कँदै गएपछि, विभिन्न रोगबाट बच्न के कसरी सकिन्छ भनेर चिन्ता त यसै भैहाल्छ । त्यसमा कुनै खाने कुरा खाएर शरीर स्वस्थ रहन्छ भने किन नखाने भन्ने हुन्छ नै । करिब आठ–नौ महिनाअघि हामीले घरमा चिया सिड्स खान सुरु गरेपछि यो कुन वनस्पतिको बिउ हो भन्ने खुलदुली मनमा घुमिरहन्थ्यो ।यसै क्रममा जीवनसंगिनी सीताले यसको बोट कस्तो हुन्छ भनेर गमलामा छरेको, चिया सिड्स सजिलै उम्रियो।यसको पात “सिलाम” भनिने वनस्पतिको पातसँग निकै हदसम्म मिल्ने रहेछ । वनस्पतिको पहिचानमा रुचि राख्नेहरुका निम्ति वनस्पति प्रजाति चिन्ने ठूलै हुटहुटी हुन्छ । यसक्रममा ठ्याक्कै प्रजाति वा वंश नचिनिए पनि प्रजातिसम्वद्ध परिवार चिन्न सक्नु चाहिँ पहिलो खुडकिलो हो ।संसारभर फूल फुल्ने वनस्पतिका ४१६ परिवार, १३ हजार बढी वंश र करिब ३ लाख प्रजाति पहिचान भएका छन् । पात र डाँठका आधारमा चिया सिड्स घरमा रोपिने तुलसी सम्बद्ध परिवार ल्यामिऐसी (Lamiaceae) अन्तर्गत पर्ने अनुमान लगाएँ । बोट एक–डेढ मिटरभन्दा अग्लो भई तिहारदेखि नीलो–बैजनी रंगका स–साना फूलहरू फुलिरहेका छन् । पछि छरेका बिरुवा बढ्दै छन् ।फूलमा ५ वटा पुष्पदल जोडिएर ट्यूब आकृति बनेको छ । त्यो पुष्पदलको ट्यूब शून्य दशमलव ६ से.मी. जति लामो छ । पुष्पदलको ट्यूबको टुप्पोमा ३ वटा धारिला चुच्चा छन् । पुष्प पत्रका आधा लम्बाइ पनि जोडिएको छ ।
पुष्पपत्रको जोडिएको भाग चाहिँ पुष्पदलको ट्यूबभित्र रहेकाले बाहिरबाट देखिँदैन । पुष्पदलभित्र रहेको पुष्पपत्रको ट्यूब हल्का सेतो र पुष्पदल बाहिरका पुष्पपत्र बैजनी रंगमा दुई भागमा विभक्त छन् ।
फूलको अगाडितिरको भाग जिभ्रो आकारको छ । जिभ्रोको मध्यभागको दुबैछेउ भित्रपट्टि पसेको छ । जिभ्रोजस्तो आकारको फेदमा अगाडि-पछाडि फर्केका दुईवटा समानान्तर देखिने सेता धर्सा छन् । पुष्पपत्रको पछिल्लो भागमा रौंले ढाकेको आकृति ठडिएको छ र वयस्क फूलमा भाले प्रजनन अंगका स–साना २ वटा आकृति जिभ्राको टुप्पातिर ढल्किएको छ ।
