बाटो छेउको चियापसलमा बिहानैदेखि चहलपहल छ । कोही चिया पिउँदैछन् । कोही अखबार पल्टाउँदैछन् । कोही मोबाइलमा व्यस्त छन् । धान भित्र्याएर फुर्सदिला भएका किसान र स्कूल हिँडेका शिक्षक एकातिर छन् । समाचार लेख्ने पत्रकार, वकालत गर्ने वकिल, सत्ता निकट दलका एक कार्यकर्ता र प्रतीपक्षी दलको कार्यकर्ता पनि सँगै छन् । सबैले दाइ भनेर बोलाउँने चियापसलको मालिक मुसुमुसु हाँस्दै चिया पकाउँदैछन् ।चिया सुर्काउँदै गरेका किसानको अनुहारमा धान झार्दा लागेको भुसको धुलो टाँसिएकै छ । छेउमा बसेका शिक्षकलाई भन्छन्, ‘लौ हेर्नोस् त, यो देशमा शिक्षकले के सिकाउँछन् थाहा छैन । म त भन्छु, स्कूलमा किताब मात्रै पढाएर हुँदैन । बच्चाहरूलाई खेतमा लगेर धान रोप्न सिकाउनुपर्छ । यसरी पढाउनुपर्छ कि बच्चाले किताब पढ्दा माटोको गन्ध पाओस् । तपाईंहरू त बच्चाहरुलाई किताबी किरा मात्रै बनाउनुहुन्छ । मलाई त लाग्छ, तपाईंहरूले कृषि विज्ञानलाई मुख्य विषय बनाउनुपर्छ । बच्चाहरुले यसरी पढ्नुपर्छ कि खेतमा गएर आफैं खेती गर्न सकून् । तपाईंहरूको पढाइले त बच्चाहरू शहरमा मात्रै बस्ने भए । गाउँमा को आउँछ ?’शिक्षकले हाँस्दै जवाफ दिए ‘सबैभन्दा पहिले त तपाईं किसानहरूले खेती गर्ने तरिका बदल्नुपर्छ । म त भन्छु, खेतमा विज्ञान लागू गर्नुपर्छ । तपाईंहरू पुरानो पाराले खेती गर्नुहुन्छ – गोरु जोतेर, हलो चलाएर । यसरी खेती गर्नुपर्छ कि हरेक बालीमा गणित लागू होस् । उदाहरणका लागि धान रोप्दा स्केल या मिटर प्रयोग गरेर दूरी नाप्नुपर्छ । रसायनशास्त्र अनुसार मल हाल्नुपर्छ । तपाईंहरू त जसरी पनि रोप्नुहुन्छ, फसल राम्रो भएन भने आकाशलाई दोष दिनुहुन्छ । मलाई त लाग्छ, किसानहरूलाई स्कुलमा ल्याएर पढाउनुपर्छ । नत्र देशमा कृषि क्रान्ति कसरी आउँछ ? तपाईंहरूको खेतीले त हामी सबै भोकै मर्छौं ।’दुई जनाको कुरा सुनेपछि अघिल्तिर बसेका पत्रकारले भने, ‘तपाईंहरू दुवैले राम्रो कुरा गर्नुभयो, तर वकिलहरूको बारेमा केही भन्नुभएको छैन । हेर्नुस् वकिलसाब तपाईंहरुले यसरी वकालत गर्नुपर्छ कि हरेक मुद्दा समाचार बन्न सकोस् । म त भन्छु, वकालत भनेको पत्रकारिता जस्तै हो – सत्य खोज्ने काम । तर तपाईंहरू त झुट बोल्नुहुन्छ, कागजपत्रहरू घुमाएर न्यायाधीशलाई भुलाउनुहुन्छ । यसरी वकालत गर्नुपर्छ कि हरेक तर्कमा प्रमाण होस्, जस्तो हामी पत्रकारहरूले स्रोत उल्लेख गर्छौं । मलाई त लाग्छ, वकिलहरूलाई पत्रकारिता सिकाउनुपर्छ । नत्र मुद्दा लम्बिन्छ, देशको न्याय प्रणाली नै बदनाम हुन्छ ।’पत्रकारको कुरा सुनेर चिया सुर्क्याइरहेका वकिलले भने, ‘पहिले पत्रकारहरूले समाचार लेख्ने तरिका बदल्नुपर्छ । म त भन्छु, पत्रकारिता भनेको वकालत जस्तै हो – तर्क र प्रमाणको खेल । तर तपाईंहरू त अफवाह फैलाउनुहुन्छ, मसलेदार हेडलाइन राखेर भ्रम फैलाउनुहुन्छ । यसरी पत्रकारिता गर्नुपर्छ कि हरेक समाचारमा कानूनी आधार होस् । कुनै घटनाको रिपोर्टिङ गर्दा धारा र उपधाराहरू उल्लेख गर्नुपर्छ । मलाई त लाग्छ, पत्रकारहरूलाई अदालतमा ल्याएर सिकाउनुपर्छ । नत्र देशमा अफवाह फैलिन्छ, समाज नै अराजक हुन्छ । तपाईंहरूको पत्रकारिताले हामी वकिलहरूको काम बढाइदिएको छ – मानहानीका मुद्दाहरू ।’अब राजनीतिक बहस शुुरु हुन्छ । सँगै चिया पिउँदै गरेका प्रतीपक्षी दलका कार्यकर्ताले भने, ‘तपाईंहरु सबैले राम्रो कुरा गर्नुभयो, तर सरकार चलाउनेहरूले के गर्छन् थाहा छैन । उहाँले समर्थन गर्ने मान्छेहरु सरकारमा छन् । नयाँ सरकार भनिएको छ, तर देश चलाउने तरिका पुरानो छ । म त भन्छु यसरी सरकार चलाउनुपर्छ कि हरेक निर्णयमा विपक्षीको सल्लाह लिनुपर्छ । बजेट बनाउँदा किसानहरूको खेतमा गएर छलफल गर्नुपर्छ । शिक्षा नीति बनाउँदा शिक्षकहरूको स्कूलमा । तपाईंहरू त कोठाभित्र बसेर निर्णय गर्नुहुन्छ । मलाई त लाग्छ, सरकार बाहिर रहेकाहरूलाई मन्त्रालयमा बोलाएर सिकाउनुपर्छ । नत्र देश डुब्छ । तपाईंहरूको सरकारले त हामी सबैलाई भिखारी बनाइदिन्छ ।’सरकार समर्थक दल निकट कार्यकर्ताले हाँस्दै भने, ‘तपाईंहरू विपक्षीहरूले सबैभन्दा पहिले पार्टी चलाउने तरिका सिक्नुपर्याे। युवाहरुले चाहेको एकथोक छ, तपाईंहरु अर्कोथोक गर्नुहुन्छ । म त भन्छु, पार्टी भनेको सरकार जस्तै हो – निर्णय लिने ठाउँ । तर तपाईंहरू त सधैं विरोध मात्रै गर्नुहुन्छ, पार्टीमा एकता हुँदैन । यसरी पार्टी चलाउनुपर्छ कि हरेक बैठकमा सरकारी नीतिको छलफल होस् । नागरिकका पीर, मर्का र आवश्यकताबारे निर्णय होस् ।’यो बहस सुन्दै गरेका चियापसले दाइ मुस्कुराए । अनि भने, ‘तपाईं सबै विज्ञहरू यहाँ जम्मा हुनुभएको छ । मेरो विचारमा उहाँ किसान दाइ शिक्षक बन्नुपर्छ, सरले चाहिँ खेतीपाती गर्नुपर्छ । वकिलसाबले पत्रकारिता र पत्रकार भाइले वकालत गर्नुपर्छ । नभए तपाईंहरु सबैले गरेको काम मलाई पालैपालो गर्न दिनुस् । देशलाई पुरै कायापलट बनाइदिन्छु ।’
Loading...
