निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न बैंकमा रहेको कोष रकममध्ये ४ अर्ब ६६ करोड लगानी गर्ने घोषणा गरेको छ। कोषले प्रकाशित सूचना अनुसार क वर्गका बैंकहरूले कात्तिक २४ गतेभित्र सो रकमका लागि दरखास्त दिन सक्नेछन्।
लगानी लिन इच्छुक बैंकहरूले कडा मापदण्ड पूरा गर्नुपर्नेछ। बैंक सञ्चालनमा आएको कम्तीमा पाँच वर्ष पूरा भएको, पछिल्ला पाँच वर्षलगातार नाफामा रहेको, नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम पूँजीकोष कायम गरेको, निष्कृय कर्जा कुल कर्जाको आठ प्रतिशतभन्दा कम रहेको जस्ता सूचक अनिवार्य पर्नेछन्।
त्यस्तै, बैंकको तरलता सूचक (खुद तरल सम्पत्ति/स्वदेशी निक्षेप) कम्तीमा २० प्रतिशत भएको हुनुपर्ने, कर्जा–निक्षेप तथा प्राथमिक पूँजी अनुपात नेपाल राष्ट्र बैंकले तोकेअनुसार सीमाभित्र हुनुपर्ने, साथै कुनै जरिवाना वा सजाय पाएको भए कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने कोषले स्पष्ट पारेको छ।
यसबाहेक, समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त भएको अवस्थामा फुकुवा भएको ६ महिना पुगेको, तथा सरकारी स्वामित्वबाहेकका बैंकहरूको हकमा सर्वसाधारणका लागि सेयर जारी गरी नेप्सेमा सूचिकृत भएको हुनुपर्ने पनि शर्तमा समावेश छन्।
कोषले लगानी गर्ने वा नगर्ने अधिकार आफूमा सुरक्षित रहने जनाएको छ। इच्छुक बैंकहरूले मापदण्ड पूरा भएको स्वघोषणासहित शिलबन्दी दरभाउपत्र पेस गर्नुपर्नेछ। दरभाउपत्रमा उल्लेखित वित्तीय परिसूचकहरू त्रैमासिक रूपमा प्रकाशित गरेका वा मासिक सूचकहरू आन्तरिक लेखापरीक्षकबाट प्रमाणीकरण गराएका हुनुपर्नेछ।
