मेरो अहिलेको प्रस्ताव एकताबद्ध वाम आन्दोलनका लागि केन्द्रित छ— त्यो हो पार्टीको एकता र समग्र कम्युनिस्ट आन्दोलनको एकता। नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एकताको यो प्रश्न हाम्रा लागि सधैँ महत्त्वपूर्ण रहँदै आएको छ। विशेषगरी, २०१७ सालपछि जब हामी विभाजित भयौँ, त्यसयता यो एकताको प्रस्ताव आज पनि उत्तिकै महत्त्वपूर्ण र अपरिहार्य बनेको छ।हामीले पछिल्लो पटक ०७५ साल जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एउटा एकता गर्यौँ। त्यो एकता गर्नुअघि हामी असाध्यै ठुलो वैचारिक र राजनीतिक झगडामा थियौँ। वैशाखको अन्तिमसम्म पनि एकता नहुने अवस्थातर्फ जाँदै थियो, तर अनपेक्षित रूपमा जेठ ३ गते एकता सम्पन्न भयो।केले रोकेको थियो र केले भयो? यसको कारण नि:सन्देह छ, त्यसको सहमतिपत्रले नै स्पष्ट पार्छ— त्यो एकता सैद्धान्तिक वा राजनीतिक विश्लेषणमा आधारित थिएन, बरु भागबन्डामा आधारित थियो। त्यो एकता, पार्टीहरूको आम समस्याहरू के हुन्, स्वयम् माओवादी भित्रका समस्या के हुन्, एमालेका समस्याहरू के हुन्, कसको सामर्थ्य के हो र कमजोरी के हो भन्नेबारे कुनै लेखाजोखा नगरीकन गरियो। यसले गर्दा दुइटै पक्षको सामर्थ्यलाई घटाउने र कमजोरीहरूलाई सम्झौता (कम्प्रमाइज) को नाममा लुकाउने काम भयो। यस्तो मूल्याङ्कनको अभावमा अगाडि बढेको त्यो कदम एक दुर्घटना साबित भयो।माओवादीका प्रयोग असफल छन्, एमालेका प्रयोगहरू असफल छन् र हाम्रो (एकीकृत समाजवादी) का प्रयोगहरू पनि असफल भएका छन्। यसको अर्थ, वाम आन्दोलनका तीनवटै धार सङ्कटमा छन्, र यसको मुख्य नेतृत्व असफल भएको छ।दुर्भाग्यवश, त्यो एकता नेताहरूको व्यक्तिगत स्वार्थ र पार्टीगत कमजोरीका कारणले टिक्न सकेन। त्यस एकतालाई संगठनात्मक, राजनीतिक र सैद्धान्तिक जग दिन सकिएन, छिटोभन्दा छिटो स्पष्टताका साथ निष्कर्षमा पुग्न सकिएन। मैले त्यतिबेला नै प्रष्ट रूपमा विश्लेषण गरेको थिएँ, यदि हामीले त्यसलाई पूरा गर्न सकेनौँ भने यो दुर्घटनाग्रस्त हुनेछ र विभाजित हुनेछ।त्यति ठुलो शक्तिमा विभाजन आएपछि राष्ट्रिय राजनीतिमा एउटा गम्भीर शून्यता आउनेछ। र, त्यो शून्यतालाई भर्नका लागि अनेक प्रयत्नहरू हुनेछन्। मैले शब्दशः लेखेको थिएँ, त्यो परिस्थितिमा ‘कलर रिभोलुसन’ को मञ्चन हुनेछ, सेनालाई आर्त-सार्त उतार्ने प्रयास हुनेछ र यो मुलुकमा भयङ्कर, डरलाग्दो गृहयुद्धको द्वन्द्व बढ्नेछ। दुर्भाग्यले आज परिस्थिति त्यही दिशामा अगाडि बढेको छ।यसर्थ, हामीले यो सन्दर्भ किन उठाएका हौँ भने, अहिले वाम आन्दोलनका सम्पूर्ण प्रयोगहरू असफल भएका छन्। माओवादीका प्रयोग असफल छन्, एमालेका प्रयोगहरू असफल छन् र हाम्रो (एकीकृत समाजवादी) का प्रयोगहरू पनि असफल भएका छन्। यसको अर्थ, वाम आन्दोलनका तीनवटै धार सङ्कटमा छन्, र यसको मुख्य नेतृत्व असफल भएको छ।
यदि वाम आन्दोलनलाई एकताबद्ध नपार्ने हो भने हामी अझ डरलाग्दो परिस्थितितर्फ धकेलिनेछौँ। मैले यसलाई ‘ब्ल्याक होल’ को संज्ञा दिएको छु। आज एमाले झन् घोर दक्षिणपन्थी, नाङ्गो दक्षिणपन्थी हुँदै बर्बादीको नजिक जाँदैछ। माओवादी पनि राजनीतिक अवसरका लागि भौँतारिने अवस्थामा छ। हिजो ३१ लाख भोट पाएको माओवादी आज कतिमा आउँछ, थाहा छैन। यसलाई सफलता मान्ने कि असफलता, त्यो बहसको विषय छ।
आजका प्रश्नहरूको उत्तर आजकै अवस्थामा दिनुपर्छ। इतिहासको गौरवशाली गाथाले आजको सङ्कटको समाधान दिँदैन।
- वैचारिक जगको सङ्कट र ‘डीएनए’ को समस्या
आजको यो सङ्कट किन आयो? यसको मूल जरो के हो? समस्या पार्टीहरूले अपनाएको राजनीतिक बाटो वा नारामा मात्र छैन, बरु यसको ‘डिएनए’ मा छ। हामीले पार्टीहरूको वैचारिक जग (डीएनए) मा के समस्या छ भन्ने कुरा नखुट्ट्याइकन जतिसुकै एकता वा महाधिवेशनको कुरा गरे पनि अर्थ छैन। आज नेता, राज्य, राष्ट्रपति, सम्पूर्ण सत्ता संरचना भुइँमा छन्।
हाम्रा लागि पुराना इतिहासहरू, ०३२, ०३६, ०४६, ०६२/०६३ सालका क्रान्तिहरूको गुणगान गाउनुको कुनै औचित्य छैन। आजका प्रश्नहरूको उत्तर आजकै अवस्थामा दिनुपर्छ। इतिहासको गौरवशाली गाथाले आजको सङ्कटको समाधान दिँदैन।
अहिले एकताको कुरा गर्दा पार्टीको नाम, झण्डा, संगठनात्मक सिद्धान्त, मार्गदर्शन सिद्धान्त मिल्यो भनेर हामी सन्तुष्ट हुने गरेका छौँ। यो त सामान्य प्रारम्भिक कुरा मात्र हो। मूल कुरा, मुलुकको सङ्कट, आजको आवश्यकता अनि हाम्रा मेलमिलापका र भिन्नताका विषयहरूको वास्तविक लेखाजोखा हो। यो डरलाग्दो सङ्कटलाई नजरअन्दाज गर्दै हामी आँखामा पट्टी बाँधेर अगाडि बढ्नु हुँदैन। हामीले राम्रो गृहकार्य गर्नुपर्छ। एकता जरुरी छ, तर त्योभन्दा बढी वैचारिक र राजनीतिक गृहकार्य जरुरी छ।
हाम्रो राजनीतिक सङ्कटको अर्को महत्त्वपूर्ण कारण हो— दलाल पुँजीवादको जालो।
राजनीतिक शास्त्रले समाजमा अन्तर्विरोध आउँछन्, त्यसको समाधान जनताले पार्टीमा खोज्छन्, पार्टीले त्यो नारा बोकेर सरकार र संसदबाट पास गराउँछ र समाजको अन्तर्विरोध समाधान हुँदै जान्छ भन्छ। तर, नेपालमा यो प्रक्रियाले काम गरेन। यहाँ पार्टी, राज्य, संसद्, सबै घुँडा टेके। यसको मुख्य कारण ‘पुरानो नेता, पुराना पार्टी’ भन्ने भाष्यमा लुकेको छ। यो भाष्यको सैद्धान्तिक जग के हो?
