सरकारले सहन्यायाधिवक्ता घनश्याम ओझालाई वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा तोकेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सञ्चालन नियमावली, २०८२ स्वीकृत गरिएको जानकारी दिए।
त्यस्तै, सरकारले नेपालको राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित जेन जी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते आयोजित प्रदर्शनका क्रममा काठमाडौंसहित मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित स्थानीय तहहरूलाई सहयोग गर्न पाँच करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि गरेको मन्त्री खरेलले जानकारी दिए।
